खेलकुद |

क्रिस मोरिस हालसम्मकै सबैभन्दा महँगा क्रिकेटर

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ६ गते । दक्षिण अफ्रिकी अलराउन्डर क्रिष्टोफर मोरिस इन्डियन प्रिमियर लिग(आईपीएल)को इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्रि हुनुभएको छ । उहाँलाई राजस्थान रोयलले खरिद गरेको छ ।
प्रिमियर लिगको आगामी संस्करणका लागि सुरु भएको निलामी प्रकृयाबाट क्रिस मोरिसलाई १६ करोड २५ लाख रुपियाँमा राजस्थानले खरिद गरेको छ । कुनै पनि विदेशी खेलाडीका लागि यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि प्रिमियर लिगको पछिल्लो संस्करणमा अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट्ट क्युमिन्स १५ करोड पचास लाख पाउनुभएको थियो । उहाँलाई कलकत्ताले किनेको थियो । त्यसअघि, भारतीय अलराउन्डर युवराज सिंहलाई देल्ही डेयरडेभिल्सले सन् २०१५ मा सबैभन्दा महँगो मूल्य तिरेर खरिद गरेको थियो । उहाँलाई १६ करोडमा खरिद गरिएको थियो । 
यसपटक १४ करोड २५ लाखमा खदिर गरिएका ग्लैन म्याक्सवेलले पछिल्लो संस्करणमा दश करोड ७५ लाख पाउनुभएको थियो ।
क्रिस मोरिसको आधार मूल्य ७५ लाख तोकिएको थियो । मुम्बई र बैंग्लौरले सुरुदेखि बोली लगाउँदै पाँच करोडसम्म पुर्याए । त्यसपछि निलामी प्रकृयामा प्रबेश गरेको पञ्जाब किंग्स र राजस्थान रोयलले दश करोडसम्म पुर्यायो । मुम्बईले प्रबेश गर्दै क्रिस मोरिसका लागि १३ करोड भारतीय रुपियाँ बोली लगाउँदा राजस्थान र पञ्जाब अझै रोकिएन । अन्त्यमा पञ्जाबकी प्रिती जिन्टाले १६ करोड मूल्य लगाउँदा राजस्थानले १६ करोड २५ लाखमा क्रिस मोरिसलाई भित्र्याएको हो ।