खेलकुद |

चौदण्डीगढी अङ्कविहीन टुंग्यायो, पुलिस तेस्रो स्थानमा उक्लियो

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ७ गते । उदयपुरको चौदण्डीगढी महिला फुटबल टोली राष्ट्रिय महिला लिगको यात्रा अङ्कविहीन रहेर टुंग्याउनुपरेको छ । लिगको अन्तिम खेलमा ऊ नेपाल पुलिससँग १०–० को फराकिलो अन्तरको हार बेहोर्यो ।
महिला लिगको आफ्नो अन्तिम खेलमा जित हात पार्दै नेपाल पुलिस क्लब तेस्रो स्थानमा उक्लिन सफल भयो । पुलिसको जितमा निरु थापाले चार, निर्मला विकले हयाट्रिक र अमृता जैसी र सुनकला राईले सामान एक एक गोल गर्नुभयो ।
नेपाल पुलिसले निरु थापाको गोलबाट चौथो मिनेटमा नै चौदण्डीगढीमाथि १–० को अग्रता लियो । ७ औं मिनेटमा दोस्रो गोल गर्नुभएको उहाँले ११ औं मिनेटमा तेस्रो गोल गर्दै आफ्नो हयाट्रिक पूरा गर्नुभयो । २९ औं मिनेटमा उहाँले चौथो गोल पूरा गर्दा सुजाता राईले आफ्नै पोष्टमा बल छिराउँदा नेपाल पुलिसले ५–० को अग्रता लिन सफल भयो ।
निर्मला विकले ३७ औं मिनेटमा आफ्नो पहिलो गोल गर्दा पुलिसले हाफटाइमसम्म ६–० को अग्रता लिन सफल भयो । दोस्रो हाफमा पुलिसले थप चार गोल गर्यो । सुनकला राईले ६१ औं, निर्मला विकले ८६ औं मिनेटमा गोल गर्नुभयो । दुबैजनाले दोस्रो हाफको अतिरिक्त समयमा समेत एक एक गोल गरेर पुलिसको चौदण्डीगढीमाथि १०–० को जित सुनिश्चित गर्नुभयो ।
नेपाल पुलिसले १२ खेलमध्ये पाँचमा जित र चारमा हार तथा तीन बराबरी खेल्दै १८ अङ्कसहित तेस्रो स्थानमा रहन सफल भयो । सामान १२ खेलबाट पाँचमा हार र पाँचमा जित तथा दुईमा बराबरी खेलेर १७ अङ्क बटुलेको वालिङ्ले चौथो स्थानमा चित्त बुझाएको छ । १२ खेलमध्ये पाँचमा जित र छ मा हार तथा एक खेल बराबरी खेलेको बिराटनगर अङ्कतालिकाको पाँचौं स्थानमा रहयो । रौतहटको चन्द्रपुरले भने १२ मध्ये तीनमा जित र नौमा हार बेहोरेर नौ अङ्क ल्याएर छैठौं स्थानमा रहयो ।