खेलकुद |

न्युजिल्याण्ड विरुद्धको श्रृखंलाका लागि बङ्गलादेश टोलीको घोषणा

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ८ गते । बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको एकदिवसीय श्रृखंलाको लागि २० सदस्यीय टोलीको घोषणा गरेको छ । देब्रे हातका स्पिनर नसुम अहमदले बङ्गलादेशको राष्ट्रिय टोलीमा पहिलो पटक स्थान सुनिश्चित गर्नुभएको छ ।
बङ्गलादेशले क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत न्युजिल्याण्डविरुद्ध तीन म्याचको एकदिवसीय श्रृखंला र बढीभन्दा बढी टी ट्वान्टी म्याच खेल्ने तालिका छ । श्रृखंला आगामी मार्च महिनाको पहिलो साता सुरु हुनेछ ।
श्रृखंलाका लागि ओपनर ब्याट्सम्यानको रुपमा मोहम्मद नईम, मध्यक्रमका ब्याट्सम्यान मोसाद्देक होस्सैन र तीब्र गतिका बलर अल अमिन होस्सैन बोलाइएका छन् ।
देब्रे हातका स्पिनर तैजुल इस्लाम टोलिमा पर्न सक्नुभएन । अलराउन्डर शकीब अल हसन समेत श्रृखंलाका लागि उपलब्ध हुनुहुन्न । तिघ्रामा चोटका कारण उहाँ आराममा हुनुहुन्छ ।
न्युजिल्याण्ड भ्रमणका लागि बङ्गलादेश क्रिकेट टोली मङ्गलबार प्रस्थान गर्नेछ ।