खेलकुद |

‘टी ट्वान्टी विश्वकपको आयोजना स्थल सार्नुपर्छ’

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ९ गते । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनिले भारतले खेलाडीको प्रवेशाज्ञा र सुरक्षाको लिख्ति आश्वासन नदिए आयोजनास्थल सार्नुपर्ने टिप्पणी गर्नुभएको छ । टी ट्वान्टी विश्वकप यसै वर्ष भारतले आयोजना गर्दैछ ।
एहसान मनिले भारतले विश्वकप टी ट्वान्टीको आयोजना गर्न असमर्थ भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आकस्मिक ब्यवस्थाका लागि यूएईलाई तयार गर्न लागेको खुलाउनुभएको छ । उहाँले भारतले सम्बन्धित सबै सरोकारबालाको सुरक्षा र प्रवेशाज्ञा पाउने लिख्ति आश्वासन दिनुपर्ने बताउनुभयो । सुरुमा सन् २०२० को विश्वकप अष्ट्रेलियाले आयोजना गर्ने निधो भए पनि कोभिड १९ को कारणले आयोजना स्थगित हुन पुग्दा सन् २०२१ मा भारतले आयोजना गर्ने अधिकार पाएको छ । अष्ट्रेलियाले सन् २०२२ को विश्वकप टी ट्वान्टी आयोजना गर्नेछ ।
आईसीसीले भारत र पाकिस्तानबीचको राजनीतिक तनाव खेलमा पर्न नहुने भन्दै मध्यस्थताको काम गर्दै आएको छ ।
लाहोरमा पत्रकारहरुसँग कुराकानी गर्दै एहसान मनिले भन्नुभयो, “पाकिस्तान क्रिकेट टोलि र ब्यवस्थापन मात्रैले प्रबेशाज्ञा पाएर भएन, खेलाडी, खेल प्रशंसक, खेल पत्रकार र बोर्डका अधिकारीहरुले समेत सुरक्षा र प्रबेशाज्ञा पाउनुपर्यो ।”
अध्यक्ष मनिले भन्नुभयो, “भारतले आईसीसी समक्ष सन् २०२० को डिसेम्बरसम्म प्रबेशाज्ञा सम्बन्धी सबै प्रकृया पूरा हुने बताएकोमा हालसम्म हुन सकेको छैन ।” उहाँले आफूले आईसीसीसमक्ष यस सम्बन्धमा गुनासो गरेको बताउनुभयो ।