भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १२ गते । भारत र इंग्ल्याण्डबीचको तेस्रो टेष्ट खेल सुरु हुँदैछ । तेस्रो टेष्टमा इंग्ल्याण्डले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको छ । विश्वकै सबैभन्दा ठूलो भारतको अहमदाबादस्थित मोटेरा रङ्गशालामा दुबै टोलीबीचको तेस्रो टेष्ट खेलाइदैछ ।
भारतविरुद्धको दोस्रो टेष्टमा हार बेहोरेर तीव्र आलोचना सहेको इंग्ल्याण्ड क्रिकेट टोलीले तेस्रो टेष्टमा चार महत्वपूर्ण परिवर्तन गरेको छ । जोफ्रा आर्चर, जेम्स एन्डरसन, जोनी बैरिष्टो र ज्याक क्रोलीले पुनरागमन गर्नुभएको छ । आर्चर र एन्डरसन दुबै जना पहिलो टेष्ट खेल्दा इंग्ल्याण्डले भारतमाथि जित हात पारेको थियो । चारैजनाले रोरी बनर्स, ओली स्टोन, डान लौरेन्स र मोइन अलिलाई विस्थापित गरेका छन् । मोइन अलिले दोस्रो टेष्टको दुबै पारीमा आठ विकेट लिए पनि उहाँ घर फर्किने जनाएपछि टोलीमा पर्न सक्नुभएन ।
भारतीय टोलीमा दुई परिवर्तन गरिएको छ । जसप्रित बुमराहको पुनरागमन भएको छ । मोहम्मद सिराजलाई बाहिर पठाइएको छ । कुलदीप यादबको स्थानमा वाशिंगटन सुन्दरले टोलीमा स्थान पाउनुभएको छ ।
चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा छ ।