युसूफ पठानद्वारा सन्यासको घोषणा
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १५ गते । भारतीय क्रिकेट टोलिका अलराउन्डर युसूफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । करिब दुई दशकसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा बिताउनुभएका पठानले शनिबार सन्यासको घोषणा गर्नुभएको हो ।
पठानले आफ्नो आधिकारिक ट्वीटर खातामा लेख्नुभएको छ, “मेरो जिवनको यस पारीलाई अन्त्य गर्ने बेला आइसकेको छ, म आधिकारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दछु ।” भारतका लागि दुई वटा विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्नु र सचिब तेन्दुलकरलाई आफ्नो काँधमा राखेर घुमाएको क्षण आफ्नो लागि जिवनकै महत्वपूर्ण क्षण भएको उहाँले उल्लेख गर्नुभएको छ ।
पठानले सन् २००८ देखि २०१२ सम्म ५७ अन्तर्राष्ट्रिय एकदिबसीय र २२ टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ । भारतले पहिलो पटक आयोजना भएको आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट २००७ को उपाधि जित्दा र सन् २०११ को विश्वकप क्रिकेटको उपाधि जित्दा पठान टोलिका सदस्य हुनुहुन्थ्यो ।
सबै ७९ अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी उहाँले १०४६ रन बनाउनुभएको छ भने ४६ विकेट लिनुभएको छ । राजस्थानले पहिलो आईपीएलको उपाधि जित्दा र कलकत्ताले सन् २०१२ र २०१४ को आईपीएलको उपाधि जित्दा पठान टोलिका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।