न्युजिल्याण्डमा कोभिडको असर : दर्शकको अनुपस्थितिमा खेलिने, खेलस्थल सारियो
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । न्युजिल्याण्डमा कोभिड १९ को बढ्दो सङ्क्रमणको असर खेलमा समेत परेको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाबीचको टी ट्वान्टी श्रृखंलाको खेलस्थल परिवर्तन गरिएको छ । यसअघि दर्शकको उपस्थितिमा हुँदै आएको खेलमा अब दर्शकको उपस्थिति रहने छैन् ।
आगामी साताका लागि निर्धारित अष्ट्रेलिया र न्युजिल्याण्डबीचको टी ट्वान्टी श्रृखंला वेलिंग्टनका लागि सारिएको छ । उक्त खेल मार्च ५ मा हुने तय छ । न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको महिला टोलिको खेल समेत वेलिंग्टनमा सारिएको छ । दुबै खेल यसअघि अकल्याण्डमा हुने तय भएको थियो । अकल्याण्डमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ ।
न्युजिल्याण्ड सरकारले तेस्रो तहको चेताबनी जारी गरेको छ । आइतबार बिहान ६ बजेदेखि उक्त लकडाउन लागू हुने न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्द्रा आर्डेनले आदेश जारी गर्नुभएको छ । समुदायमा सङ्क्रमण फैलिएको आशङ्कामा खेलकुद गतिबिधि बन्द गरिने भएको छ । न्युजिल्याण्ड क्रिकेटले दुबै खेल मार्च पाँचका लागि सारेको छ । पाँच खेलको टी ट्वान्टी श्रृखंलामा न्युजिल्याण्डले २–० को अग्रता लिएको छ । तेस्रो टी ट्वान्टी खेल मार्च ३ मा हुनेछ ।
अकल्याण्ड बाहेकका न्युजिल्याण्डका शहर भने दोस्रो तहमा राखिएको छ । दोस्रो तहमा राखिदा खेल हुनेछन् तर दर्शकको अनुपस्थितिमा । जारी सिजनमा कोभिडको कारणले अन्तर्राष्ट्रिय क्रिकेट खेल प्रभाबित भएको यो पहिलो अबसर हो ।
न्युजिल्याण्ड विरुद्धको श्रृखंला खेल्न बङ्गलादेश क्रिकेट टोलि समेत क्राइस्टचर्च पुगेको छ । बङ्गलादेश क्रिकेट टोलिका सदस्यहरु दुई साताको आइसलेशनमा रहनेछ । मार्च अन्तिममा बङ्गलादेशले न्युजिल्याण्ड विरुद्ध एकदिबसीय श्रृखंला खेल्नेछ ।