जितसँगै एसी मिलानले इन्टरसँगको दूरी कम गर्यो
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । एसी मिलानले इटाली सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी कम गरेको छ । एसी मिलानले रोमालाई हराएँदा अङ्कतालिकाको शीर्षस्थानको इन्टरभन्दा अङ्क दूरी कम गर्दै ५२ अङ्क पुर्याएको छ । इन्टर मिलानको ५६ अङ्क छ । तेस्रो स्थानको युभेन्ट्सको ४६ अङ्क छ । इन्टर र एसी मिलानले दुबै समान २४ खेल खेलेको छ ।
गए राति सम्पन्न खेलमा एसी मिलानले रोमालाई २–१ ले हरायो । फ्रयाङ्क केसेले मिलानलाई ४३ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । उहाँले पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्नुभयो । रोमाका फेड्रिको फाजियोले देविड कालाब्रियालाई लडाउँदा एसी मिलानले पेनाल्टीको अवसर पाएको थियो ।
रोमाका जोर्डन भेरेटटले १८ गजबाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत हुँदा खेल १–१ को बराबरीमा आयो । उहाँले ५० औं मिनेटमा गोल गर्नुभयो । एन्टे रेबिक्सले ५८ औं मिनेटमा गोल गर्दा एसी मिलानलाई रोमामाथि जित दिलाउन उक्त गोल नै पर्याप्त हुन गयो ।