खेलकुद |

क्यारन पोलार्डले एकै ओभरमा छ छक्का लगाए

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । वेष्टइन्डिजका अलराउन्डर क्यारन पोलार्डले एकै ओभरमा छ छक्का लगाउनुभएको छ । ओभरको प्रत्येक बलमा छक्का लगाउने उहाँ तेस्रो ब्याट्सम्यान हुनुहुन्छ ।
श्रीलङ्का विरुद्धको पहिलो टी ट्वान्टी खेलमा उहाँले अकिला धनञ्जयको ओभरको छ बलमा छ छक्का लगाउनुभएको हो । अकिलाले हयाट्रिक विकेट लिएको एक ओभरपछि पोलार्डले छ बलमा छ छक्का लगाउनुभयो । १३२ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले तीन ओभर २ बलमा ५२ रन बनाएर उत्कृष्ट सुरुवात गर्यो । तर अकिलाले एकै ओभरमा तीन विकेट लिएपछि वेष्टइन्डिज दबाबमा आयो ।
अकिलाले एभिन लेविस, क्रिस गेल र निकोलास पूरनलाई पेभेलियन फर्काएर हयाट्रिक विकेट पुरा गर्नुभयो । क्रिस गेल आफ्नो पुनरागमन खेलमै डक आउट हुन पुग्नुभयो । निकोलास पूरनले समेत खाता खोल्न सक्नुभएन ।
लेन्डी सिमोन्सले २६ र एभिन लेविसले २८ रनको योगदान दिनुभयो । आठ बलपछि लेन्डी सिमोन्स पनि पेभेलियन फर्किनुभयो । क्रिजमा ब्याटिंग गर्न आउनुभएका क्यारन पोलार्डले अघिल्लो ओभरमा हयाट्रिक विकेट लिनुभएका अकिला धनञ्जयको ओभरको प्रत्येक बलमा छक्का लगाउँदै युवराज सिंह र हर्षेल गिब्सको क्लबमा आफ्नो नाम दत्र्ता गराउन पुग्नुभयो । कप्तान क्यारन पोलार्डले वनिन्डु हसरंगा डे सिल्भाको बलमा एलबीडब्ल्यु आउट हुनुअघि मात्र ११ बलमा ३८ रनको योगदान दिनुभयो । उहाँ पेभेलियन फर्किदा वेष्टइन्डिजले ८० बलमा मात्र ३१ रन ल्याउन जरुरी थियो । श्रीलङ्का विरुद्धको खेलमा वेष्टइन्डिजले पावर प्लेमा अहिलेसम्मकै उच्च योगफल तयार गरेको कीर्तिमान बनायो । जैसन होल्डरले २४ बलमा २९ रन बनाएर अविजित रहनुभयो ।
त्यसअघि, कुलिजमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको श्रीलङ्काले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १३१ रन जोडन सफल भयो । उसको ब्याटिंगमा ओपनर निरोशन डिकवेलाले ३३ तथा पथुम निसान्काले ३९ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका बलिंगमा ओबेड म्याकैले सर्वाधिक दुई तथा केभिन सिन्क्लैर, फिदेल एडवार्डस, जैसन होल्डर, ड्वायन ब्राभो र फाबियन एलेनले सामान एक एक विकेट लिनुभयो ।
जितसँगै वेष्टइन्डिजले तीन म्याचको श्रृखंलामा १–० को अग्रता लिएको छ ।