खेलकुद |

अफगानिस्तान र जिम्बाबवेबीचको टेष्ट पनि दुई दिनमै सकियो

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । भारत र इंग्ल्याण्डबीचको तेस्रो टेष्ट खेल दुई दिनमै सकिएको भन्दै क्रिकेट विश्लेषकहरुको आलोचना जारी रहँदा जिम्बाबवे र अफगानिस्तानबीचको टेष्ट खेल समेत दुई दिनमै सकिएको छ । अफगानिस्तानले प्रस्तुत गरेको १७ रनको लक्ष्य जिम्बाबवेले बिना कुनै क्षतिमा दोस्रो दिनको खेल नसकिदै पुरा गरेको हो । जितसँगै जिम्बाबवेले दुई म्याचको श्रृखंलामा १–० को अग्रता लिएको हो ।
जिम्बाबवेको जितमा प्रिन्स मसभौरेले पाँच तथा केभिन कसुजाले ११ रन बनाएर अविजित रहनुभयो । पहिलो पारीमा एक सय १९ रनको अग्रता लिएको जिम्बाबवेले दोस्रो पारीमा मात्र १३५ रन बनाउन सकेपछि जिम्बाबवेले १७ रनको लक्ष्य पाएको थियो ।
दोस्रो पारीमा अफगानिस्तानलाई १३५ रनमा सीमित गर्न जिम्बाबवेका डोनाल्ड ट्रिपानो, भिक्टर नौचीले सामान तीन तीन तथा ब्लेसिंग मुजबानीले दुई तथा सीन विलियम्स र रयान बर्लले सामान एक एक विकेट लिनुभयो । ओपनर इब्राहिम जर्दनले ७६ रनको पारी खेले पनि अफगानिस्तानले सम्मानजनक योगफल तयार गर्न सकेन ।
त्यसअघि, यूएईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अफगानिस्तानले कमजोर सुरुवात गर्दै आठ रनमै दुई विकेट गुमाउन पुग्यो । ओपनर इब्राहिम जर्दनले ३१ रनको पारी खेलेर स्थिरता दिने प्रयास गरे पनि उहाँ लामो समयसम्म क्रिजमा टिक्न सक्नुभएन । विकेटकीपर ब्याट्सम्यान अफसर जजैले सबैभन्दा बढी ३७ रनको योगदान दिँदा अफगानिस्तान झिनो योगफलमा समेटिनबाट जोगियो ।
जिम्बाबवेका लागि तीब्र गतिका बलर ब्लेसिंग मुजर्बानीले सर्वाधिक चार विकेट लिनुभयो । भिक्टर न्यौचीले तीन तथा डोनाल्ड ट्रिपानो, सिन विलियम्स र सिकन्दर राजाले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा जिम्बाबवेले कप्तान सीन विलियम्सको शतकको सहयोगमा पहिलो पारीमा २५० रनको औसत योगफल तयार गर्न सफल भयो । विलियम्सले १०५ रनको योगदान दिनुभयो । सिकन्दर राजाले ४३ तथा रागिस चकाभाले ४४ रन बनाउनुभयो ।
अफगानिस्तानका लागि आमिर हाम्जाले सर्वाधिक छ, जहिर खानले दुई तथा इब्राहिम जर्दन र यामिन अहमदजैले सामान एक एक विकेट लिनुभयो ।
सीन विलियम्स प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।