टेम्बा बभुमा दक्षिण अफ्रिकी क्रिकेटका पहिलो अश्वेत कप्तान नियुक्त
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । टेम्बा बभुमा दक्षिण अफ्रिकी क्रिकेट टोलिको अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी अन्तर्राष्ट्रियको कप्तान नियुक्त हुनुभएको छ । उहाँ दक्षिण अफ्रिकी क्रिकेट इतिहासमा कप्तानको एक चक्रका लागि जिम्मेवारी पाउनुहुने पहिलो अश्वेत अफ्रिकी हुनुहुन्छ ।
दक्षिण अफ्रिकी क्रिकेट बोर्डले गत बिहीबार डीन एल्गरलाई टेष्ट क्रिकेट टोलीको कप्तान र टेम्बा बभुमालाई अन्तर्राष्ट्रिय एकदिवसीयको कप्तान नियुक्त गरेको छ । बभुमा टेष्ट टोलीको उपकप्तान समेत नियुक्त हुनुभएको छ । बभुमाले दक्षिण अफ्रिकालाई आगामी तीन विश्वकप क्रिकेट प्रतियोगितामा नेतृत्व गर्नुहुनेछ ।
सन् २०२१ र २०२२ को टी ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको नेतृत्व गर्नुहुनेछ । सन् २०२३ मा अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेटको आयोजना हुँदासमेत कप्तानको जिम्मेवारीमा बभुमा नै रहनुहुनेछ । डीन एल्गर भने विश्व टेष्ट च्याम्पियनसिपको आगामी चक्रसम्मका लागि कप्तानको भूमिकामा रहनुहुनेछ ।
दुबैजनाले क्विन्टन डे ककबाट कप्तानको जिम्मेवारी पाउनुभएको छ । फाफ डु प्लेसिसले कप्तानबाट राजिनामा गरेपछि डे कक उक्त जिम्मेवारी पाउनुभएको थियो । डे ककको कप्तानीमा दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको टेष्ट श्रृखंला २–० ले हारेको थियो । घरेलु मैदानमा अफ्रिकाले श्रीलङ्कालाई २–० ले हराउँदा इंग्ल्याण्डविरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाका सबै खेल हारेको थियो ।
दक्षिण अफ्रिकी क्रिकेट बोर्डका निर्देशक ग्रैम स्मिथले डे ककले राष्ट्रिय टोलिको नेतृत्व प्रदान गरेकोमा उहाँलाई धन्यवाद दिँदै आगामी दिनमा टोलीका सदस्यको रुपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको प्रतिक्रिया दिनुभयो ।