खेलकुद |

दीपेन्द्रसिंह ऐरीको शतक, पुलिसद्वारा एपीएफ समक्ष २५९ रनको लक्ष्य प्रस्तुत

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेलेपछि नेपाल पुलिसले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ऐरिले १३१ बलमा ११ चौका र छ छक्कासहित १४० रनको उत्कृष्ट पारी खेलेर अविजित रहनुभयो ।
मेयर कप क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल पुलिसले पुरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २५८ रनको सम्मानजनक योगफल तयार गरेको छ । पुलिसले २२ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको थियो । तर ऐरीले पवन सर्राफसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गर्नुभयो । सर्राफले मात्र ३० बलमा चार छक्काको सहयोगमा ३५ रनको योगदान दिनुभयो । अनिल साहले २२ बलमा १८ रन बनाउनुभयो । एपीएफले १४ अतिरिक्त रन खर्चियो ।
एपीएफको बलिङ्गमा अविनाश बोहराले १० ओभरमा ५४ रन खर्चेर दुई विकेट लिनुभयो । कप्तान शरद भेषावकारले दश ओभरमा ४२ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । अमर रौटेलाले एक विकेट लिनुभयो ।
बागमती विरुद्धको पहिलो खेलमा मात्र ७२ रनमा समेटिए पनि दुई रनले जित हात पारेको पुलिसले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २५८ रनको सम्मानजनक योगफल तयार गर्न सफल भएको हो ।