खेलकुद |

साहब र मुखिया चम्किदा काठमाडौं मेयर एघार १५५ रनमा समेटियो

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । त्रिभुवन आर्मीका बलरद्वय साहब आलम र जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरेपछि काठमाडौं मेयर ११ को पारी १५५ रनमा समेटिएको छ । साहबले चार विकेट लिँदा मुखियाले तीन विकेट लिनुभयो ।
मेयर कप क्रिकेट अन्तर्गत सोमबार त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको काठमाडौं मेयर एघारले ४२ ओभर एक बलमा मात्र १५५ रनमा समेटिन पुगेको छ । मेयर ११ का लागि हरिशंकर साह र खडक बोहराले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेर औसत सुरुवात गर्नुभयो । ४८ रनमा साहको रुपमा पहिलो विकेट खसेको मेयर एघारको योगफल ६५ रन पुग्दा चार विकेट गुमाउन पुग्यो । साहले १८ र बोहराले १९ रनको योगदान दिनुभयो । साहब आलमले साह र बोहरासँगै बिपीन रावल र सिद्धान्त लोहनीको विकेट लिनुभयो ।
मध्यक्रममा सन्दीप रजालीले सौरभ खनालसँग पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेर पारी उकास्ने प्रयास गर्नुभयो । तर १३१ रनमा पाँचौं विकेट गुमाएको काठमाडौं मेयर ११ ले थप २४ रन जोड्दै १५५ रनको सामान्य योगफलमा समेटिन पुग्यो । सौरभ खनालले सर्वाधिक ४२ तथा सन्दीप रजालीले ३७ रनको योगदान दिनुभयो । उसलाई सस्तोमै समेटन जितेन्द्र मुखियाले दश ओभरमा मात्र ३८ रन खर्चेर तीन विकेट लिनुभयो । पहिलो पाँच ओभरको स्पेलमा विकेटविहीन बन्न पुगेका मुखियाले उक्त स्पेलनमा दुई ओभर मैडन राख्नुभयो । साहब आलमले दश ओभरमा ३९ रन खर्चेर चार विकेट लिनुभयो ।
सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले एक एक विकेट बाँड्नुभयो ।