नारी दिवसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको उपहार
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर महिला लक्षित क्रिकेट प्रतियोगिता विस्तार गर्ने निर्णय गरेको छ । आईसीसीको निर्णयले महिला विश्वकप र महिला टी ट्वान्टी विश्वकपमा अझै बढी टोलिले सहभागिता जनाउन पाउनेछन् । पुरुष च्याम्पियन्स ट्रफी प्रतियोगिता झैं महिला विधातर्फ महिला टी ट्वान्टी च्याम्पियन्स कपको अवधारणा पनि आईसीसीले ल्याउन लागेको छ ।
आईसीसीले महिला लक्षित प्रतियोगितामा टोली थप्नुका साथै प्रतियोगिता समेत थपेको हो । आईसीसीले अर्को चक्रका लागि विश्वकप क्रिकेट २०२९ मा दश टोली सहभागी हुने सुनिश्चित गरेको छ । हाल विश्वकप क्रिकेटमा आठ टोलि सहभागी हुँदै आएको छ । सन् २०२५ को विश्वकपमा आठ टोलीले ३१ वटा म्याच खेल्नेछ । सन् २०२९ को विश्वकपमा भने दश टोलीले कुल ४८ म्याच खेल्नेछ ।
हाल विश्वकप टी ट्वान्टी क्रिकेटमा दश टोलि सहभागी हुँदै आएका छन् । सन् २०२४ को टी ट्वान्टी विश्वकपमा २३ म्याच खेलाइनेछ । सन् २०२६ को विश्वकप टी ट्वान्टी क्रिकेटमा १२ टोलिले ३३ म्याच खेलिनेछ । महिला टी ट्वान्टी च्याम्पियन्स कप क्रिकेट सन् २०२७ र २०३१ मा हुनेछ । च्याम्पियन्स कपमा छ टोलीले १६ म्याच खेल्नेछ ।
सन् २०२३ देखि २०३१ चक्रमा आठ वटा प्रतियोगिता आयोजना हुनेछ ।