चेल्सीले एभर्टनलाई हरायो
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । चेल्सीले एभर्टनलाई हराएको छ । प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि २–० को जित हात पारेको छ ।
३१ औं मिनेटमा बेन गडफ्रेले आफ्नै पोष्टमा गोल हानेपछि चेल्सीले १–० को अग्रता लिन पायो । जोर्गिन्होले ६५ औं मिनेटमा पाउनुभएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि चेल्सीले एभर्टनलाई २–० ले हराउन सफल भयो । एभर्टनमाथि जितसँगै चेल्सीले प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा अपराजित यात्रालाई यथावत् राखेको छ ।
जारी संस्करणको दश खेल खेल्न बाँकी रहँदा थोमस टुचेलको चेल्सी च्याम्पियन्स लिगमा छनोट हुन आवश्यक प्रिमियर लिगको चौथो स्थानमा यथावत् छ । चेल्सी पाँचौं स्थानको वेष्टहमभन्दा दुई अङ्कले अगाडि छ । एभर्टनले भने चेल्सीलाई हराएर वेष्टहममाथि पाँचौं स्थानमा उक्लिने अवसर गुमायो ।