बार्सिलोना १४ वर्षमा पहिलोपटक अन्तिम आठमा पुग्न सकेन
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठबाट बाहिरिएको छ । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै पेरिस सैन्ट जर्माइन(पीएसजी)ले अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा पीएसजीले बार्सिलोनामाथि ४–१ को जित हात पारेको थियो । क्वार्टरफाइनल पुग्न पीएसजीले समग्रमा बार्सिलोनामाथि ५–२ को जित हात पार्यो ।
बार्सिलोनाका लागि ३० औं मिनेटमै कायल म्बाप्पेले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ३७ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा पुनरागमन गराउनुभयो । पहिलो हाफमै थपिएको समयमा बार्सिलोनाले पेनाल्टीको अबसर पायो । तर लियोनल मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न सक्नुभएन । फेब्रुअरी २०१५ मा म्यान्चेष्टर सिटी विरुद्ध पेनाल्टी ‘मिस’ गर्नुभए यता मेस्सीले छ वर्षमा पहिलो पटक पेनाल्टीलाई गोलमा सदुपयोग गर्न सक्नुभएन ।
३३ वर्षीय मेस्सीकै कप्तानीमा बार्सिलोनाले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । लयमा उतारचढाबबाट गुज्रेका मेस्सीले पछिल्लो संस्करणदेखि नै पीएसजी सर्ने चर्चा चल्दै आएको छ ।
पीएसजीले भने सन् २०१६–१७ को संस्करण यता लगातार तीन पटक अन्तिम १६ बाटै बिदा भएको थियो । पछिल्लो चार वर्षमा पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुगेको हो ।