विश्वकप छनोट खेल कुवेतमा हुने
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । विश्वकप फुटबल २०२२ तथा एएफसी एसिया कप चीन २०२३ को छनोट खेल कुवेतमा हुने भएको छ । एसियाली फुटबल संघले एशिया छनोट खेल हुने स्थल शुक्रबार तय गरेको छ । गत् साता एसियाली फुटबल संघ(एएफसी)ले नेपालले आयोजना गर्ने दोस्रो चरणको अष्ट्रेलिया विरुद्धको छनोट खेल स्थगित भएको जनाएको थियो ।
एएफसीले एसियाली सदस्य राष्ट्रहरुसँग नजिकको छलफलपछि छनोट खेल हुने स्थलको टुंगो लगाएको जनाएको छ । दोस्रो चरणको सबै खेल ३१ मई देखि १५ जुनसम्म खेलाइनेछ । तालिका बमोजिम चीनले समूह ए को सिरीया, फिलिपिन्स, माल्दिभ्स र गुआमबीचको खेलको आयोजना गर्नेछ । कुवेतलाई समूह बी अन्तगर्तको सबै खेल आयोजना गर्ने जिम्मेवारी दिइएको एएफसीले उल्लेख गरेको छ । नेपाल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ समूह बी मा छन् ।
नेपालले चैत्त १७ गते दशरथ रङशालामा अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । दोस्रो चरणको छनोट अन्तगर्त नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ ।
नेपालले छनोट चरणमा पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपालको तीन अङ्क छ । शीर्षस्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले पाँच खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन पाँच खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ ।
चाइनिज ताइपेईले भने पाँच खेलमध्ये पाँच वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पुछारमा छ ।
नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७–० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो । जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेतविरुद्ध भुटानको थिम्पुमा ०–१ को हार बेहोरेको थियो ।