टी ट्वान्टी श्रृखंला खेल्न पाकिस्तानका शर्जिल खान बोलाइए
गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २८ गते । पाकिस्तान चयनकत्र्ता समितिले दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि शर्जिल खानलाई टोलिमा स्थान दिएको छ । सन् २०१७ पछि शर्जिलले पहिलो पटक टोलिमा स्थान बनाउनुभएको हो ।
सन् २०१७ को पाकिस्तान सुपर लिग(पीएसएल)मा म्याच फिक्स प्रकरणमा मुछिएपछि उहाँमाथि प्रतिबन्ध लगाइएको थियो । जिम्बाबवे र दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी टोलिको घोषणा गर्दा शर्जिल दुबै भ्रमणमा टोलिका सदस्यको रुपमा रहनुहुनेछ । देब्रे हातका ब्याट्सम्यान शर्जिलले एक टेष्ट खेल, २५ अन्तर्राष्ट्रिय एकदिबसीय र १५ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ ।
म्याच फिक्स प्रकरणमा दोषी ठहर भएपछि पाकिस्तान क्रिकेट बोर्डले उहाँमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको थियो । पछि उक्त प्रतिबन्ध खुकुलो गरी सजायको आधा कटौती गरिएको थियो । पीएसएलको स्थगित भएको संस्करणमा शर्जिलले कराँची किंग्सको प्रतिनिधित्व गर्नुभएको छ । उहाँले पुनरागमन टी ट्वान्टीमै गत् फेब्रुअरी महिनामा इस्लामाबाद यूनाइटेड विरुद्ध कराँचीका लागि शतक लगाउनुभएको छ ।