खेलकुद |

जिम्बाबवेले ‘फलो अन’ पायो

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २९ गते । जिम्बाबवेले अफगानिस्तान विरुद्धको दोस्रो टेष्टमा फ्लो अन पाएको छ । अफगानिस्तानले पहिलो पारीमा तयार गरेको ५४५ रनको जवाफमा जिम्बाबवेले पहिलो पारीमा मात्र २८७ रनमा समेटिएपछि उसलाई फ्लो अन दिइएको हो ।
दोस्रो पारीको सुरुवात गरेको जिम्बाबवेले चौथो दिनको खेल जारी रहँदा दुई विकेटको क्षतिमा ९० रन बनाएको छ । पहिलो पारीमा ऊ अफगानिस्तानभन्दा अझै १६८ रनले टाढा छ । तारिसै मुसाकाण्डा नौ र कप्तान सीन विलियम्सले ३५ रन बनाएर अविजित हुनुहुन्छ । ओपनर प्रिन्स मसभुराले १५ तथा केभिन कसुजाले ३० रन बनाएर पेभेलियन फर्किनुभयो ।
अफगानिस्तानका लागि राशिद खान र जाभेद अहमदीले सामान एक एक विकेट लिनुभएको छ ।
त्यसअघि, अबुधाबीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले हश्मतुल्लाह शाहिदीको अविजित दोहोरा शतक तथा अशगर अफगानको शतकको सहयोगमा पहिलो पारी चार विकेटको क्षतिमा ५४५ रनमा घोषणा गरेको थियो । इब्राहिम जर्दनले ७२ तथा नासिर जमालले अविजित ५५ रन बनाउनुभयो ।
ज्म्बिाबवेका लागि भिक्टर नैची, सिकन्दर राजा र रयान बर्लले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा जिम्बाबवेले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात गर्यो । ओपनर प्रिन्स मसभौरेले ६५ तथा केभिन कसुजाले ४१ रनको योगदान दिनुभयो । तरिसै मुसाकाण्डाले ४१ रन बनाउनुभयो । मध्यक्रममा सिकन्दर राजाको ८५ रनको अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि पहिलो पारीमा जिम्बाबवे २५८ रनले पछाडि पर्दै २८७ रनमा समेटिन पुग्यो ।
अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक चार तथा आमिर हाम्जाले तीन र साएद शिर्जादले दुई विकेट लिनुभयो ।
दुई म्याचको टेष्ट श्रृखंलामा जिम्बाबवे १–० ले अगाडि छ ।