खेलकुद |

रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्यो

गोरखापत्र अनलाइन
चैत्त ४ गते । रियल मड्रिड तीन वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिग राउन्ड अफ १६ को दोस्रो लेगमा एटलान्टालाई ३–१ ले हराउँदै ऊ क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
रियलले राउन्ड अफ १६ को पहिलो लेगमा एटलान्टालाई रियलले १–० ले हराएको थियो । दोस्रो लेगमा उसले ३–१ को जित हात पार्दा समग्रमाथि एटलान्टालाई ४–१ ले पाखा लगायो ।
पहिलो हाफमा करिम बेञ्जिमाको एक मात्र गोलबाट अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल थप्यो । बेञ्जिमाले जारी संस्करणमा रियल मड्रिडका लागि २१ गोल गर्नुभएको छ ।
एटलान्टाले खेलको उत्तराद्र्धमा गोल फर्काएपनि खेलमा वापसीका लागि धेरै ढिलाइ गरिसकेको थियो । ६० औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई कप्तान सर्जिओ रामोसले गोल दोब्बर पार्नुभयो ।
लुईस मुरिएल ८३ औं मिनेटमा गर्नुभएको गोलबाट इटालीको एटलान्टाले खेल २–१ को स्थितिमा ल्याउन सफल भयो । तर एक मिनेट नबित्दै मार्को एसेन्सियोले गोल थप्दा रियल मड्रिडले एटलान्टालाई ३–१ ले हराउन सफल भयो ।
सन् २०१४ देखि २०१८ सम्मको च्याम्पियन्स लिगको पाँच संस्करणमध्ये चार संस्करणको उपाधि जितेको रियल मड्रिडले बिगत् दुई वर्षदेखि अन्तिम १६ बाटै बाहिरिदै आएको थियो ।