रोस टेलर पहिलो एकदिवसीयबाट बाहिरिए
गोरखापत्र अनलाइन
काठमाडौं, चैत ४ गते । न्युजिल्याण्ड क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान रोस टेलर बङ्गलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलबाट बाहिरिनुभएको छ । घुँडामा आएको चोटका कारण उहाँ बङ्गलादेश विरुद्धको पहिलो एकदिबसीय खेलमा सहभागी नहुने अवस्थामा पुगेको बताइएको छ ।
रोस टेलरको अनुपस्थितिले न्युजिल्याण्डको राष्ट्रिय क्रिकेट टोलीमा मार्क च्यापम्यान पहिलो पटक बोलाइएका छन् । यसअघि हङकङका लागि छ अन्तर्राष्ट्रिय एकदिवसीय खेलिसक्नुभएका च्यापमनले न्युजिल्याण्डका लागि भने चार खेलमा अझै दोहोराे अङ्कको योगफल जोडन सक्नुभएको छैन ।
टेलर पहिलो एकदिवसीय नखेल्ने भएपछि डेभोन कोनवे र विल योङले पारीको सुरुवात गर्ने जिम्मेबारी पाउनुहुनेछ । केन विलियम्सनको अनुपस्थितिमा डेभोन कोनवे यसअघि नै ओपनिङ गर्ने जिम्मेबारी पाउने अपेक्षा गरिएको थियो । अब भने टेलरलाई विल योङले विस्थापित गर्नुहुनेछ । दुबैजना अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो पटक न्युजिल्याण्डको प्रतिनिधित्व गर्नुहुनेछ ।
रोस टेलर अन्तर्राष्ट्रिय एकदिवसीयमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुनुहुन्छ । सन् २०१४ पछि पहिलो पटक न्युजिल्याण्ड क्रिकेट टोलीले दुबै ब्याट्सम्यानको अनुपस्थितिमा खेल्न लागेको हो । रोस टेलर बाँकीको दुबै खेलमा सहभागी हुने अपेक्षा गरिएको छ । न्युजिल्याण्डका प्रशिक्षक गैरी स्टिडले खेलको पूर्वसन्ध्यामा आएको खबरले दुःखित भएको बताउनुभएको छ ।