दोस्रो टी ट्वान्टीमा जितसँगै अफगानिस्तानले श्रृखंला उचाल्यो
गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ७ गते । अफगानिस्तानले जिम्बाबवे विरुद्धको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । दोस्रो टी ट्वान्टीमा ४५ रनले जितेपछि अफगानिस्तानले तेस्रो तथा अन्तिम टी ट्वान्टी बाँकी छँदै तीन खेलको श्रृखंला जितेको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउँदै जिम्बाबवे १७ ओभर एक बल खेलेर मात्र १४८ रनमा समेटिन पुग्यो । जिम्बाबवेका लागि र्यान बर्लले सर्वाधिक ४० रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । सातौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका उहाँ पेभेलियन फर्किदा जिम्बाबवेलाई जितका लागि चार ओभरमा ५३ रन आवश्यक थियो । डोनाल्ड ट्रिपानोले दोस्रो सर्बाधिक २४ रनको योगदान दिनुभयो ।
अफगानिस्तानका लागि राशिद खानले सर्बाधिक तीन तथा नवीन ऊल हक, मोहम्मद नबी र आमीर हाम्जा, फरिद अहमद तथा करिम जनतले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, अबुधबीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले पूरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १९३ रनको सम्मानजनक योगफल तयार गर्यो । उसको पारीमा ओपनर उसमान घानीले ४९ तथा करिम जनतले अद्र्धशतक लगाएर ५३ रनको योगदान दिनुभयो । दुबै जनाले दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गर्नुभयो । मोहम्मद नबीले मात्र १५ बलमा ४० रनको विष्फोटक पारी खेलेपछि अफगानिस्तानले सम्मानजनक योगफल तयार गर्न सफल भयो ।
जिम्बाबवेका लागि ब्लेसिङ मुजाराबानीले सर्बाधिक दुई तथा डोनाल्ड ट्रिपानो, र्यान बर्ल र रिचर्ड गार्भाले सामान एक एक विकेट लिनुभयो । मोहम्मद नबी प्लेयर अफ द म्याच घोषित हुनुभयो ।