खेलकुद |

पाँचौं टी ट्वान्टीमा जितसँगै भारतलाई शृङ्खला

गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ८ गते । भारतले इंग्ल्याण्ड विरुद्धको पाँच खेलको टी ट्वान्टी श्रृखंला ३–२ ले जितेको छ । दोस्रो र चौथो खेल जितेको भारतले पाँचौं, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा इंग्ल्याण्डलाई ३६ रनले हराउँदै श्रृखंला जितेको हो ।
भारतले प्रस्तुत गरेको २२५ रनको विशाल लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले पुरै २० ओभर खेले पनि आठ विकेटको क्षतिमा मात्र १८८ रन जोडन सक्यो । रन जोडन नपाउँदै ओपनर जैसन रोयको रुपमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डका लागि अर्का जोस बटलरले देविड मलानसँग १२९ रनको साझेदारी गर्दै पारी सम्हाल्नुभयो । भुवनेश्वर कुमारले जोस बटलरलाई ५२ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्काए लगत्तै इंग्ल्याण्डको पारी धराशायी हुन थाल्यो ।
देविड मलानले मात्र ४६ बलमा ६८ रनको पारी खेल्नुभयो । उहाँ टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने कीर्तिमान समेत बनाउनुभयो । यसअघि उक्त कीर्तिमान पाकिस्तानका बाबर आजमको नाममा थियो । आजमले २६ टी ट्वान्टी खेलेर एक हजार रन पुरा गर्दा मलानले २४ खेलमा एक हजार रन पूरा गर्नुभएको छ ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले मात्र दुई विकेटको क्षतिमा २२४ रनको विशाल योगफल तयार गर्यो । भारतका लागि रोहित शर्मासँग कप्तान विराट कोहलीले पारीको सुरुवात गर्नुभयो । दुबैजनाने ९४ रनको ओपनिङ साझेदारी गर्नुभयो । शर्मा ६४ रन बनाएर पेभेलियन फर्किनुभयो । विराट कोहलीले भने ८० रन बनाएर अविजित रहनुभयो । सूर्यकुमार यादबले १७ बलमा ३२ रन बनाउँदा हार्दिक पाण्ड्याले १७ बलमा ३९ रन बनाएर अविजित रहनुभयो ।
इंग्ल्याण्डका लागि आदिश रशिद र बेन्न स्टोक्सले सामान एक एक विकेट लिनुभयो ।