आईओसीले बेलारुसका दुई प्रशिक्षकको मान्यता खोस्यो
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आईओसी)ले बेलारुसका दुई जना प्रशिक्षकको ओलम्पिक मान्यता खोसेको छ । आईओसीले आर्टर शिमाक र यूरी मैसेभिचले ओलम्पिक गाउँ छोडेको पुष्टि गरेको छ । अनुसन्धान अझै जारी छ ।
बेलारुसकी स्प्रिन्टर क्रिष्टिना तिमानोस्कायाले आफ्नो टोलीको आदेशमा स्वदेश फर्किन अस्वीकार गर्नुभएको थियो । प्रशिक्षकको आलोचना गरेपछि टोलीबाट बाहिरिएकी क्रिष्टिना र टोली ब्यवस्थापकको विवाद विश्व चासोको विषय बनेपछि आईओसीले उक्त घटनाबारे छानबिन गर्दैछ । घर फर्किन आफू असुरक्षित रहेको बताउँदै सहयोगको अपिल गरेपछि क्रिष्टिनालाई पोल्याण्डले मानवीय भिसा उपलब्ध गराएको थियो । हाल क्रिष्टिना पोल्याण्डमा हुनुहुन्छ ।
आईओसीले बेलारुसको राष्ट्रिय ओलम्पिक कमिटीको हितमा दुई प्रशिक्षकको मान्यता खोसेको जनाएको छ । बेलारुसका ओलम्पियन हाल टोकियोमा छन् ।