यूएस ओपनको उपाधिका लागि दुई किशोरी स्पर्धा गर्ने
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । यूएस ओपन टेनिसको उपाधिका लागि दुई जना किशोरीबीच प्रतिस्पर्धा हुने भएको छ । बेलायतकी किशोरी एम्मा रडुकानोले ग्रीककी १७ औं वरीयताकी मारिया सकारीलाई हराएर फाइनलमा स्थान सुनिश्चित गर्नुभएको छ ।
रडुकोनाले ६–१ र ६–४ को सोझो सेटमा जित निकाल्दै फाइनलमा क्यानेडाली लेलाह फर्नान्डेजसँगको स्पर्धा सुनिश्चित गर्नुभएको हो । गएको ४४ वर्षमा प्रमुख ग्रान्ड स्लाम एकलतर्फ उपाधिको होडमा उभिनुहुने रडुकोना पहिलो बेलायती महिना हुनुहुन्छ ।
त्यसअघि, शुक्रबार नै सम्पन्न अर्को सेमीफाइनल खेलमा लेलाह फर्नान्डेजले एरिना सबालेन्कालाई हराएर फाइनलमा स्थान सुनिश्चित गर्नुभएको छ । सन् १९९९ पछि पहिलो पटक यूएस ओपन ग्रान्ड स्लामको उपाधिको होड दुई जना किशोरीबीच हुने भएको छ । यसअघि सन् १९९९ मा अमेरिकी सेरेना विलियम्सले स्वीटजरल्याण्डकी मार्टिना हिंगिसको सामना गर्दा दुबै जना किशोर उमेर समूहकै हुनुहुन्थ्यो ।