खेलकुद |

यूएस ओपनको फाइनलमा जोकोभिचले मेदभेदेभको सामना गर्नुहुने

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । यूएस ओपन टेनिस पुरुष एकल तर्फको फाइनलमा नोभाक जोकोभिच र डेनिल मेदभेदेभबीच स्पर्धा हुने भएको छ । फाइनल खेल आइतबार हुनेछ। दोस्रो सेमीफाइनलमा जोकोभिचले अलेक्जेण्डर जेभ्रेभलाई हराउनुभएको छ ।
रुसी दोस्रो वरीयताका मेदभेदेभले क्यानाडाका फेलिक्स औगर–अलिस्सीमलाई हराएर फाइनलसम्मको यात्रा गर्नुभएको छ । विश्व वरीयताको शीर्षस्थानमा रहनुभएका जोकोभिचले जेभ्रेभलाई हराउन पाँच सेटको कठीन खेल खेल्नुपर्यो । पहिलो सेटमा पछाडि पर्नुभएका जोकोभिच चौथो सेट समेत गुमाउन पुग्नुभएको थियो । उहाँले जेभ्रेभलाई ४–६ ६–२ ६–४ ४–६ ६–२ को पाँच सेटमा हराउनुभयो ।
जोकोभिचले अब २१ औं पटक पुरुष एकल ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमान बनाउने होडमा हुनुहुन्छ । यसअघि रोजर फेडेरर र राफल नाडल मात्रैले २० पटक ग्रान्ड स्लाम जित्नुभएको छ । उक्त कीर्तिमान जोकोभिचले बराबरी गरिसक्नुभएको छ ।