खेलकुद |

जिम्न्याष्टिक टोलीको विदाइ

 

गोरखापत्र समाचारदाता

काठमाडौं, कात्तिक ७ गते । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्नेभएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच विदाइ गर्नुभयो ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष/महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाउनुभयो ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर हुनुहुन्छ् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ रहनुभएको छ ।

प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य रहनुभएको छ । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान हुनुहुन्छ ।