खेलकुद |

पलेशालाई आईओएफटीसीको सम्मान

गोरखापत्र समाचारदाता

काठमाडौं, कात्तिक १२ गते । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारालयम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार एक लाख एक हजार रुपियाँसहित सम्मान गरेको छ ।

टोकियो पारालिम्पकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसंग पराजित हुनुभएको थियो । त्यसपछि रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराउदै कांस्य पदक नजिक पुग्नुभएको थियो । यद्यपि कांस्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसँग चुक्नुभयो र नेपालले ऐतिहासिक पदक हासिल गर्न सकेन ।

पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भए । २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन शुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र ओलम्पिकयन विष्टलाई जनही ५१ हजार नगद प्रदान गरियो ।

संघीय सांसद नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले पलेशा तथा लामा र विष्टलाइ नगद र प्रशंसा पत्र प्रदान गर्नुभयो । सोही अवसरमा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पु¥याएवापत जनार्जन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । आईओएफटीसीको आईओएफटीसी टिम नेपालमार्फत सबैलाई सम्मान गरिएको हो ।

एनओसीका अध्यक्ष श्रेष्ठले राम्रो व्यवस्थापन भएमा तेक्वान्दोले नेपाललाई ओलम्पिक पदक दिलाउन सक्छ, भन्नुभयो । यसैगरी, पारा खेलाडीको स्तर बृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रिएता बढाउनु पर्नेमा जोड दिनुहुँदै पलेशालाई पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन अहिलेदेखि नै अभ्यासमा लाग्न सल्लाह दिनुभयो ।

पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताउनुभयो ।