खेलकुद |

रबाडाको ह्याट्रिक, इङ्गल्यान्डको पहिलो हार तर दक्षिण अफ्रिका मर्माहत

शारजाह (युएइ), कात्तिक २१ गते । विश्वकप टी–२० प्रतियोगितामा सबैभन्दा लयमा देखिएपछि उपाधिको प्रमुख दावेदार मानिएको इङ्गल्यान्ड अन्तिम लिग खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ ।

यद्यपि सो खेलल इङ्गल्यान्डलाई सेमिफाइनल पुग्नबाट रोक्न सकेन भने दक्षिण अफ्रिका जिते पनि प्रतियाेगिताबाट बाहिरियो । दक्षिण अफ्रिकालाई अन्तिम चारमा पुग्न इङगल्यान्डलाई फराकिलो अन्तरले हराउनुपर्ने समीकरण बनेको थियो ।

तर जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दुई विकेटका क्षतिमा १८९ रनको विशाल योगफल बनाएपछि त्यो सम्भव नि देखियो । तर इङगल्यान्डले जवाफमा आठ विकेटका क्षतिमा १७९ रन बनाएपछि दक्षिण अफ्रिका विदा भयो । समूह १ मा इङ्गल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाले पाँचमध्ये चार–चार खेल जितेका थिए । त्यसपछि रनऔसतको आधारमा सेमिफाइनलमा पुग्ने टिमको निर्धारण भयो । रनरेटमा सबैभन्दा अगाडि रहेको इङ्गल्यान्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बने ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा इङ्गल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जेसन रोय घाइते हुनुभएको छ । उहाँले बाँकीका खेल खेल्नेबारे भने अहिले नै खुलासा गरिएको छैन ।

दक्षिण अफ्रिकाका लागि रसी भान डर डुसेनले चार चौका र छ छक्कासहित ६० बलमाअविजित ९४ रन बनाउनुभयो । एइडेन मारकमले पनि २५ बलमा अविजित ५२ रनको पालि खेल्नुभयो । इङगल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३७ रन बनाउनुभयो । यद्यपि सबै ब्याट्सम्यानले उपयोगी पालि खेलेपछि इङ्गल्यान्ड जितको नजिक थियो । इङ्गल्यान्डले अन्तिम ओभरमा १४ रन बनाउन आवश्यक थियाे । तर तेज बलर कगिसो रबाडाले ह्याट्रिकसहित तीन रनमा खर्चेर इङ्गल्यान्डलाई प्रतियोगिताको पहिलो हार चखाउनुभयो । - एपी