खेलकुद |

अस्ट्रेलिया विश्वकप टि-२० को उपाधि भिडन्तमा

दुबई (संयुक्त अरब इमिरेट्स), कात्तिक २६ गते । म्याथ्यू वेडले शाहिद आफ्रिदीले फालेको अन्तिम दोस्रो ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि अस्ट्रेलियाले बिहीबार राति पाकिस्तानलाई पाँच विकेटले हराएर विश्वकप टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

पाकिस्तान जितको नजिक रहेको स्थितिमा वेडले अपत्यारिलो ब्याटिङ गरी अस्ट्रेलियालाई एक ओभर बाँकी छँदै जित दिलाउनुभयो । अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १७७ रन बनाएर जित हात पार्यो । पाकिस्तान समूह चरणमा सबै खेल जितेर अन्तिम चारमा पुगेको थियो । संयुक्त अरब इमिरेट्समा पछिल्ला १६ खेलमा अपराजित पाकिस्तान पाँच वर्षपछि हारेको हो ।

लेग स्पीनर शादब खानले २६ रनमा चार विकेट लिएपछि पाकिस्तानले १४ औँ ओभरको समाप्ति मात्र ९६ रनमा अस्ट्रेलियाको पाँच विकेट निकालिसकेको थियो । शादबले मिचेल मार्श (२८), स्टिभ स्मिथ (५), ग्लेन म्याक्सवेल (७) र डेभिड वार्नर (३० बलमा ४९)को महत्वपूर्ण विकेट निकाल्नुभएको थियो । वार्नरको विकेट विवादास्पद रह्यो । वार्नरलाई ‘कट बिहाइन्ड’ आउट दिइए पनि ‘टेलिभिजन रिप्ले’मा ब्याट्सँग बलको सम्पर्क नभएको देखिएको थियो ।

यसैगरी, आफ्रिदीको अन्तिम ओभरमा हसन अलीले वेडको सजिलो क्याच नछुटाएको भए नतिजा पाकिस्तानको पक्षमा जाने सम्भावना धेरै थियो । सो जीवनदानमा दुई रन लिएपछि वेडले तीन बलमा १८ रन बटुल्नुभएको हो । वेडले मात्र १७ बलमा अविजित ४१ रन बनाउनुभयो । मार्कस स्टोइनिस पनि ३१ ब्लमा ४० रन बनाएर आउट हुनुभएन । यी दुईले सङ्कटको समयमा ४० बलमा ८१ रन बनाएर अस्ट्रेलियालाई फाइनलमा पुर्याउनुभएको हो ।

यसअघि, पाकिस्तानका लागि मोहम्मद रिज्वानले ६७ र फकर जमानले अविजित ५५ रन बनाएपछि पहिले ब्याटिङ गरेको पाकिसतानले चार विकेटको क्षतिमा १७६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । रिज्वान टि२० मा एक सत्रमा एक हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान पनि बन्नुभएको छ । पाकिस्तानका लागि कप्तान बाबर आजमले पनि ३९ रनको योगदान दिनुभयो ।

अस्ट्रेलियाले आइतबार अस्ट्रेलियाविरुद्ध फाइनल खेल्नेछ । एपी