खेलकुद |

प्रकाश दाहाल स्मृति बक्सिङको फाइनलमा सुवास र प्रदीप

काठमाडौं । मङ्सिर २ गते । प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीतर्फ सुवास तामाङ र प्रदीप महर्जन फाइनल पुग्नुभएकाे छ। बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबका सुवास र एपीएफका महर्जनले फाइनल यात्रा तय गर्नुभएको हो ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गर्नुभयो ।

पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाकओभर पाउनुभयो । फाइनलमा उहाँको भेट भीपीबीसीका उपास गुरुङसँग हुनेछ । अर्को सेमिफाइनलमा उपासले स्विटका आङ पेम्बा शेर्पालाई हराउनु भएको थियो ।

पुरुष ५७ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामा तथा बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउदै फाइनलमा स्थान बनाउनुभयो ।

पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगर तथा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गर्नुभएको छ ।

पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठ तथा एपीएफका सोनम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै फाइनलमा पुग्नुभएको छ ।