नेपालका चार खेलाडी विश्व पौडी च्याम्पियनसिप खेल्दै
काठमाडौँ, मङ्सिर २६ गते । यूएईको आबुधाबीमा डिसेम्बर १५ देखि २१ तारिखसम्म आयोजना हुने १५औँ विश्व फिना पौडी च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपालबाट पुरुष र महिलातर्फ दुई दुई खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा पुरुष दुई सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन र पुरुष ५० र एक सय मिटर फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नुहुनेछ ।
महिला ५० र एक सय मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र एक सय मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले प्रतिस्पर्धा गर्नुहुनेछ । अमेरिकामा रहनु भएका एलेक्स उतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिनुभयो ।
नेपाली टोलीको प्रशिक्षकमा नयना शाक्य र व्यवस्थापकमा अनिश महर्जन रहनुभएको छ । नेपाली टोली सोमबार आबुधाबी जानेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतले बिदाई गर्नुभयो ।