खेलकुद |

तेक्वान्दोमा अनुज्ञालाई स्वर्ण

काठमाडौँ, पुस ४ गते । कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटाले बागमतीस्तरीय दोस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । जैशीदेवल युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ४२–४६ केजीको फाइनलमा अनुज्ञाले काठमाडौं महानरपालिकाकी दिया रजकलाई पराजित गर्नुभयो ।

महिला ४६–५० केजीमा गोदावरी नगरपालिकाकी रोसल्यान ओझाले काठमाडौँकी सुमिना खड्गीलाई फाइनलमा हराउदै पहिलो हुनुभयो । महिला ३५–३८ केजीमा काठमाडौँकी पुनम खत्री तथा ३८–४२ केजीमा काठमाडौँकै आकृति गुरुङले स्वर्ण चुम्नुभयो ।

पुम्से एकलको पुरुषमा गोदावरीका श्रृजल श्रेष्ठ र महिलामा कागेश्वरीकी सन्ध्या लामा तथा पेयरमा नागर्जुनका आशिष श्रेष्ठ र मोनिका मगरले शीर्ष स्थान हात पार्नुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ३१–३४ केजीमा काठमाडौँका रोहन भुजेल, ३४–३८ केजीमा आयोजक जैशीदेवलका राहुल लिम्बू तथा ३८–४२ केजीमा पनौती नगरपालिकाका कैलाश थापाले स्वर्ण जित्नुभयो ।

विजेतालाई नागर्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेत, नागर्जुन नगरपालिका वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठलगायतले पुरस्कृत गर्नुभयो । प्रतियोगिता सोमबार सकिनेछ ।