खेलकुद |

क्यान खेलाडी विवाद समाधान उन्मुख, छलफलबाटै हल गरिने 

गोविन्द रेग्मी
काठमाडौँ, पुस ५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि अनुशासनको कारवाही गरेपछि अहिले नेपाली क्रिकेटको भविष्य के हुने भन्ने धेरैको चासो बढेको छ । अनुशासनको कारवाही लगतै उच्च राजनीतिक तहमा यस विषयमा छलफल हुनु र प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिनुभएपछि यो विषय थप चर्चामा आयो । क्रिकेट मैदान देखिएका यी घटनाक्रमले कतै नेपाली क्रिकेटको अहिलेको गति ओरालो लग्ने त होइन भन्ने चिन्ता क्रिकेट प्रेमीमा देखिएको छ । तर अहिले यसलाई थप बढाउने भन्दा छलफलबाट समाधान गर्नुपर्छ भन्ने तर्फ सबैको मत बलियो बन्दै गएको देखिन्छ ।
यसै सन्दर्भमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि क्यानले गरेको कारबाही अनुशासनको कारबाही मात्र भएको बताउनुभएको छ ।
‘क्यान र खेलाडीबीचको विवाद आपसी छलफल गरेर समाधान गरिनेछ । विवाद सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यममा आएको जस्तो होइन । खेलाडीहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छैन । हस्ताक्षर नगरेपछि उहाँँहरुले पाउनुपर्ने रकम निकासा गर्न गाह्रो हुन्छ । त्यसमाथि क्यानले खेल्न नपाउने गरी कुनै खेलाडीलाई कारबाही गरेको छैन,’ चन्दले भन्नुभयो ।
साधनस्रोतले धानेसम्म खेलाडीको सुविधा र हकहितको लागि क्यानले काम गरिरहेको पनि चन्दले बताउनुभयो । ‘पदाधिकारीदेखि खेलाडीसम्म सबैले आफ्नो कर्तव्य र अनुशासनलाई पालना गरेमात्र गन्तव्यमा पुग्न सकिन्छ । क्यानले असन्तुष्ट खेलाडीहरुसँग छलफल गरेर छिट्टै समाधान निकाल्ने तयारी गरिरहेको छ,’ चन्दले भन्नुभयो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्यान र खेलाडीबीचको असहमति आपसी छलफल गरेर हलगर्नु पर्ने बताउनुभयो । ‘विश्वकप छनोटको तयारी गर्नुपर्ने समयमा विवादमा अल्झिनु राम्रो होइन । क्यानलाई एक आपसमा मिलेर समस्या समाधान गर्न आग्रह गरेको छु,’ मन्त्री गहतराजले भन्नुभयो ।
गत बुधबार बसेको क्यान बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरी सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको थियो । क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय पनि गरेको थियो ।
क्यानले यसअघि गरेको खेलाडीको वर्गीकरण र ‘सेन्ट्रल कन्ट्रयाक्ट’ को विषयलाई लिएर मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा प्रचारबाजी र गुनेसो गर्दै आउनुभएको थियो । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको कारबाही गरिएका खेलाडीको भनाइ थियो । खेलाडीसँग क्यानले स्पष्टीकरण सोधेको थियो । क्यानले भने खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता समेत पालना नगरेकोले कारबाही गरिएको जनाएको छ ।
क्यानले गत बर्षदेखि राष्ट्रिय टोलीका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेर ‘सेन्ट्रल कन्ट्रयाक्ट’ दिन थालेको हो । वर्गीकरण अनुसार ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ मा पर्नेले ४० हजार र ‘सी’ मा पर्नेले ३० हजार मासिक रुपियाँ पाउँदै आएका छन् ।

विश्वकप छनोट खेलको तयारी पोखरामा

नेपाली क्रिकेट टोलीले मङ्गलबारदेखि पोखरामा टी–२० विश्वकप छनोट खेलको तयारी गर्न लागेको छ । भर्खर प्रशिक्षकमा नियुक्त हुनुभएको पुबुदु दसानायकेले नेपाली टोली सम्हाल्नुहुनेछ ।
अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्दैछ । आईसीसीले भर्खर सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूह ‘ए’ मा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा  छन् ।
यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

कप्तान नियुक्त भएपछि सन्दीपको खुशी

नेपाली टोलीका कप्तानमा नियुक्त भएपछि सन्दीप लामिछानेले खुशी ब्यक्त गर्नुभएको छ । हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहनु भएका सन्दीपले सामाजिक सञ्जालमार्फत खुशी ब्यक्त गर्नुभएको हो ।
उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ– ‘टोलीमा सबैको लागि ढोका खुला छ । छातीमा नेपालको झण्डा बोक्ने सपना मेरो सधैं थियो । अब नेपाली क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित महसुस गरेको छु ।’
क्यानप्रति कृतज्ञ रहेको भन्दै सन्दीपले नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन र थप प्रभावकारी बनाउन परिवारको रुपमा खेल्ने उल्लेख पनि गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘एउटा टिम हुनेछ । एकता हुनेछ । टोलीको ढोका सबैको लागि खुला हुनेछ । सबै एसोसियट राष्ट्रहरुले हामीलाई पूर्णरुपमा समर्थन गरेका छन् । क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को छलफलमा हामीले टेस्ट राष्ट्रहरुसँग क्रिकेटका लागि थप पहल गर्न आवश्यक छ । हामीसँग धेरै काम छन् र हामी जे पनि गर्न सक्छौंँ ।’