राष्ट्रिय फुल कन्ट्याक्ट कराते अर्को साता
काठमााडैँ, पुस ५ गते । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १६औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा तीन र महिलामा एम गरी जम्मा चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहनेछ । सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।
आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द शिविरमा राख्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने बताउनुभयो । प्रतियोगिता त्रपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।