टेलिकम र सिल्क सेमिफाइनलमा
काठमाडौँ, पुस ७ गते । नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौँ टिम च्याम्पियन कर्पोरेट ब्याडिमन्टिनको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलिकमले दुइ जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा बुधबार नेपाल टेलिकमका नम्बर एक वरियताका खेलाडी रत्नजित तामाङले राष्ट्र बैंकका नम्बर दुई दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ ले हराउनुभयो ।
टेलिकमकी सिमा राजबंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ ले पराजित गर्नुभयो । टेलिकमकै सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिषीकेश भट्ट र डिला राम सुवेदीलाई २१–१४, २१–१४ ले पन्छाउनुभयो ।
यसैगरी सिल्कले कुमारी बैंक, कान्तिपुर पब्लिकेशन र आयल निगम तिनै टिमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।