साविक विजेता नेपालको सुखद सुरुवात
काठमाडौँ, पुस ८ गते । साविक विजेता नेपालले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बंगलादेशको ढाकामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो ।
सुरुवाती दुई सेट गुमाएको नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकालेको हो । नेपालले श्रीलंकालाई १९–२५, २१–२५, २५–१५, २५–१९, १५–१३ ले हराएको हो । डिसेम्बर २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।
लिग चरणको दोस्रो खेलमा नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा पुग्नेछन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ हुनुहुन्छ ।
नेपाल लामो तयारी गरेर बंगलादेश गएको हो । नेपाल सन् २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो । सेन्ट्रल जोन अन्तर्गत नेपाली पुरुष टोलीले बिहीबार (आज) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागि छन् ।