खेलकुद |

एभिसी एसियन सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जित

काठमाडौँ, पुस ९ गते । साविक विजेता नेपालले बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।

ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा बिहीबार नेपालले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो । माल्दिभ्समाथि नेपालले २५–११, २५–९, २५–५ को सहज जित निकालेको हो ।

लगातार दोस्रो जितसँगै पाँच अङ्क बनाएको नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले लिग चरणको तेस्रो खेल शनिबार बङ्गलादेशसँग खेल्नेछ ।
च्याम्पियनसिपमा महिलातर्फ नेपालसहित आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् । फाइनल खेल पुस १४ गते हुनेछ ।

यसैगरी पुरुषतर्फ नेपालले आजै साँझ ५ः४५ बजे उज्वेकिस्तानसँग खेल्दैछ । पुरुषतर्फको पहिलो खेलमा नेपाल बिहीबार आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पुरुषतर्फ नेपालसहित आयोजक बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तानले भाग लिएका छन् ।