खेलकुद |

इस्टर्न ओपन गल्फमा ५० खेलाडी

काठमाडौँ, पुस ९ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ पुस १२ गतेदेखि १५ गतेसम्म धरानमा हुने भएको छ ।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनगरी प्रतियोगिता धरान गल्फ क्लबमा गरिने जानकारी दिएको हो । ५४ होलको तीन दिने प्रतियोगिातमा प्रोतर्फ ३५ र एमेच्योरमा १५ गरी ५० जना गल्फरले प्रतिस्पर्धा गर्ने एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो ।

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने बताईएको छ ।

प्रोतर्फ शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत पुस १६ गते प्रोएम स्पर्धा हुने आयोजकले जनाएको छ ।