टेलिकमलाई कर्पोरेट ब्याडमिन्टन उपाधि
काठमाडौँ, पुस ९ गते । कुमारी बैंक काठमाडौँ टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि नेपाल टेलिकमले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा शुक्रबार भएको फाइनलमा सिल्क ग्रुपलाई हरायो ।
पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्नुभयो । महिला एकलको दोस्रो खेलमा सिल्ककी अनुमाया राईले टेलिकमकी सिमा राजबंशीमाथि २१–१४, २१–१५ को जित निकाल्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
कर्पोरेट पुरुष युगलको तेस्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले सिल्कका सुवाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले हराउनुभयो । महिला युगलको चोथो खेलमा टेलिकमकी सिमा राजबंशीको घुँडामा चोट बल्झेपछि रिटायर्ड हर्ट भई खेल छोडेपछि खेल पुनः २–२ को बारबरीमा सकियो । पुरुष युगलमा रत्नजित तामाङ र हरि कृष्णन शर्माले सिल्कका रमेश शेर्पा र बिकास श्रेष्ठलाई पराजित गरेपछि टेलिकमले उपाधिमाथि कब्जा जमाएको हो ।
कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका विजयी टिमले १५ केजीको आठ लाख रुपियाँ बराबरको चाँदीको चार सटल रहेको रनिङ ट्रफी र मेडल पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिातमा आठ वटा कर्पोरेट हाउसको सहभागिता रहेको थियो । विजेता टोली र खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।