खेलकुद | पर्यटन | फोटो फिचर |

संरक्षण गरिँदै रक क्लाइम्बिङ रुट (फाेटाे फिचर)


अमरराज नहर्की
तनहुँ, पुस १० गते । बन्दीपुर गाउँपालिका–४ को विमलनगरस्थित चुनपहरामा खेल रक क्लाइम्बिङ गर्नेको भीड जम्मा गरिएको छ । यो भीड रक क्लाइम्बिङ पारखीको अभ्यासको लागि नभई फरक उद्देश्यले गरिएको हो । त्यहाँस्थित रक क्लाइम्बिङको रुट संरक्षण गर्न दबाब दिन स्वदेश तथा विदेशी खेलाडीहरुलाई जम्मा गरिएको छ । सङ्ख्या धेरै भएकाले चुन पहरोमा छपक्कै उक्लिएको मान्छेहरु देखिन्छ ।

साहसिक खेलका लागि नेपालकै रक क्लाइम्बिङको उपयुक्त गन्तव्य मानिएको विमलनगरको चुन पहरालाई बचाउन गरिएको ४ दिने महोत्सवमा रक क्लाइम्बिङ गर्नेको घुईंचो लागेको छ । पृथ्वीराजमार्गको फराकिलो गर्ने क्रममा चुन पहरोमा गरिने रक क्लाइम्बिङको रुटको अस्तित्व नामेट भएर जाने भएकाले संरक्षण गर्न दबाब दिन महोत्सव गरी भीड जम्मा गरिएको हो । गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड तथा बन्दीपुर गाउँपालिकाको आयोजनामा पुस ९ देखि १२ गतेसम्म गरिएको रक क्लाइम्बिङ महोत्सवमा देशविदेशबाट आएका माउन्टेरिङ गाइडहरुबीच रक क्लाइम्बिङ प्रतियोगिता गरिएको छ ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले पृथ्वीराजमार्गको स्तरोन्नति गर्ने क्रममा चुन पहराको अस्तित्व समाप्त गर्न नहुने बताउनुभयो । भूमिगत मार्ग बनाउने, म¥याङ्दी नदीबाट टेवा पर्खाल दिएर फराकिलो बनाउने वा नजिकको फरक स्थानबाट राजमार्गको सडक लैजाने जस्ता विकल्प प्रयोग गर्न सुझाव दिएर बचाउन दबाब दिईरहेको महोत्सवको आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । रक क्लाइम्बिङको प्रचार गरी पर्यटन प्रवद्धन गर्न समेत महोत्सवले मद्धत पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

‘‘चुन पहरो बचाऊ’’ बिमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चुन पहरालाई बचाउन महोत्सवको आयोजना गरिएको बताउनुभयो ।‘‘मुग्लिन कोत्रे सडक खण्ड विस्तारका क्रममा चुन पहराको अस्तित्व मेटिन नदिन र उक्त ठाउँको पर्यटन प्रवर्धन  गर्न नेपालमै पहिलो पटक रक क्लाइम्बिङ महोत्सवको आयोजना गरिएको हो’’ समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

मूख्य आयोजक गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले बिमलनगरको चुन पहरा साहसिक खेल रक क्लाइम्बिङका लागि नेपालकै उत्कृष्ट गन्तव्य रहेकाले यसलाई बचाउन आफुहरुले महोत्सवको आयोजना गरेको बताउनुभयो । ‘‘चिनियाँ कम्पनीले सडक विस्तार गर्ने क्रममा चुन पहरालाई जोगाइदियोस् भन्ने कुरामा दबाब दिन महोत्सव गरेका हौँ’’ शाहीले भन्नुभयो । यस्ता संरचना भत्किन नदिन र रक क्लाइम्बिङको प्रबद्र्धन गर्न महत्वसले टेवा पुग्ने विश्वास आयोजकको छ । सोही क्लबका कोषाध्यक्ष कुलबहादुर गुरुङले पनि नेपालकै सबैभन्दा राम्रो र उपयुक्त गन्तव्यको रुपमा मानिएको रक क्लाइम्बिङको उगदम स्थल चुन पहरालाई जोगाउनु आफूहरुको एक मात्र उद्देश्य भएको बताउनुहुन्छ ।

उक्त महोत्सवमा एक सयभन्दा बढी माउन्टेरिङ गाइडहरुको सहभागिता रहेको छ । उक्त महोत्सवमा चट्टान चढनेहरुका बीचमा प्रतियोगिता समेत गरिएको आयोजकले जनाएको छ । महिला र पुरुषको छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको र प्रथम र द्धितिय हुनेले क्रमशः रुपियाँ ५० हजार र रुपियाँ २५ हजार नगदको व्यवस्था गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अुनसार चुन पहरामा साहसिक खेल रक क्लाइम्बिङ गर्नका लागि स्वर्गीय इमानसिङको सम्झनामा प्रेम गुरुङ, सुनार गुरुङ, श्री महर्जन र पदम घलेले रुटहरु तयार गर्नुभएको छ । ६० वटा रुट तयार भइसकेको समितिले जनाएको छ । प्रतियोगितामा भाग लिन देशभरबाट माउन्टेरिङ गाइड र म्याराथन रेशलरहरु समेत आइपुगेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैंक (एडीबी)ले सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रकृयामा गइसकेको छ ।