सेन्ट्रल जोन भलिबल : नेपाल महिलातर्फ फाइनल नजिक
काठमाडौँ, पुस १० गते । साविक विजेता नेपाल एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनल नजिक पुगेको छ । लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल नजिक पुगेको हो ।
ढाकामा जारी प्रतियोगितामा शनिबार लिग चरणको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो । नेपाल बंगलादेशमाथि २५–५, २५–१५, २५–१७ को जित निकाल्न सफल भयो । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
जितसँगै शीर्षस्थानमा रहेको नेपालको आठ अंक बनाएको छ । बंगलादेशले खाता खोल्न सकेको छैन । नेपालले आइतबार उज्वेकिस्तानसँग खेल्नेछ । महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ नेपालले शनिबार (आजै) साँझ ५ः४५ बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल पुरुषतर्फ पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले शुक्रबार उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । पुरुषतर्फ आयोजक बंगलादेशसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान गरी पाँच देश सहभागी छन् ।