विभिन्न १२ तेक्वान्दो डोजाङलाई खेल सामाग्री प्रदान
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १० गते । अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी)ले शनिबार २१ औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल सामाग्री प्रदान गरेको छ । आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई चेस्ट प्याड, ह्यान्ड गार्ड, सिन गार्ड, हेड गार्डजस्ता खेल सामग्री प्रदान गरेको हो ।
आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ रहेको जानकारी दिनुभयो । यसैगरी, आइओएफटिसीले म्युजिक हाउस कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाकाली अनाथ असहाय भोजनगृहलाई १५ हजार रुपियाँ प्रदान गरेको छ ।
आइओएफटिसीले प्रदेश ७ को सरस्वती डोजाङ, प्रदेश ६ को जुम्ला तेक्वान्दो डोजाङ, प्रदेश ५ को नेपालगञ्ज तेक्वान्दो डोजाङ, प्रदेश ४ को लेकसाइड तेक्वान्दो डोजाङ, प्रदेश ३ को पासा मध्यपुर तेक्वादो डोजाङ, दिलिप मेमोरियल तेक्वान्दो डोाजङ, खैरनी तेक्वान्दो डोजाङ, दोलखाको तेक्वान्दो डोजाङ, प्रदेश २ को चेरु मैत्री तेक्वान्दो डोजाङ र प्रदेश १ को ऐसेलु र्खक तेक्वान्दो डोजाङ र नेचा सल्यान तेक्वान्दो डोजाङलाई खेल सामाग्री प्रदान गरेको हो ।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले १२ डोजाङ र म्युजिक हाउसका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले ललितपुर महानगरपालिकाले तेक्वान्दो, भलिबल, फुटबलजस्ता खेलका लागि बजेट छुट्याएको छ, भन्नुभयो ।
आइओएफटिसी दुई महिनाअघि मात्र टोकियो पारालम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई एक लाख एक हजार तथा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई जनही ५१ हजार रुपियाँले सम्मानित गरेको थियो ।
अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा मे १३ देखि १४ तारिखसम्म हुँदैछ । जुन प्रतियोगितामा नेपाल, अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, मेक्सिको, बेलायतलगायत २० राष्ट्रका सयभन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।