खेलकुद |

एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा

काठमाडौँ, पुस १३ गते । एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको अर्को संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बंगलादेशमा सोमबार बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको निर्धारित मिति भने तोकिएको छैन । माल्दिभ्स भलिबल एसोसिएन (भाम) ले सन् २०२२ भित्र प्रतियोगिता आयोजना गर्ने जनाएको छ । माल्दिभ्सले यसअघि तेस्रो संस्करण पनि आयोजना गरेको थियो । जसमा नेपाली पुरुष टोलीले कांस्यपदक जितेको थियो ।

महिलातर्फको पहिलो संस्करण भने सन् २०१९ मा बंगलादेशमा आयोजना भएको थियो । नेपाल लिगचरण देखि एक सेटपनि नगुमाई च्याम्पियन बनेको थियो । सन् २०२१ को संस्करण अहिले बंगलादेशमा जारी छ । नेपाली महिला टोलीले मंगलबार (आज) फाइनलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पुरुषतर्फ पनि आजै नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप सन् २०२२ मा नेपालमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको उल्लेख गरेको छ ।

बंगलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । च्याम्पियनसिपको निर्धारित मिति भने तय भएको छैन ।