महिला भलिबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको बधाई
काठमाडौँ, पुस १४ गते । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारील बधाई दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले बुधबार सामाजित सञ्जाल ट्वीटरमार्फत खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै बधाई दिनुभएको हो । राष्ट्रपति भण्डारीले ट्वीटरमा लेख्नुभएको छ, ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई ! साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
यसअघि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पनि नेपाली टोलीलाई बधाई दिनुभएको थियो । नेपालले फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको थियो । नेपाल लगातार दोस्रो पटम च्याम्पियन बनेको हो ।
नेपाली महिला टोलीले यसअघि सन् २०१९ मा बंगलादेशमै भएको च्याम्पियनसिपमा लिग चरणदेखि एक सेट पनि नगुमाई उपाधि जितेको थियो । दोस्रो पटक उपाधि जित्न सफल नेपाली टोली बिहीबार स्वदेश फर्कने नेपाल भलिबल संघले जनाएको छ ।
पुरुषतर्फ भने नेपाल चौथो भएको छ । कांस्य पदकका लागि मंगलबारनै भएको भिडन्तमा नेपाली पुरुष टोली उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।