मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि
काठमाडौँ, पुस १४ गते । बाग्मती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश छन् । ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा ३ सय ३० खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख १ हजार २ सय रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदेश टोलीको यातायात, खाना र बसोवास खर्च आयोजकले व्यहोर्ने पनि अध्यक्ष पुरीले बताउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको छ । सहप्रायोजकमा ललिततपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका रहेको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।