खेलकुद |

केटीएम रन माघमा

काठमाडौँ, पुस २३ गते । केटीएम रन माघ १५ गते आयोजना हुने भएको छ । शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनगरी रनको मिति सार्वजनिक गरेको हो ।
१० किलोमिटरको रनमा महिला र पुरुष दुई स्पर्धा समावेश गरिएको केटीएम रनका ब्यवस्थापक आशिष पौडेलले जानकारी दिनुभयो ।

दुवै स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ५० हजार र ३० हजार रुपियाँ पुरस्कार पाउनुहुनेछ । चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

रन दरवारमार्गबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, बानेश्वर पुगेर पुन माइतीघर फर्किएर थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमलहुँदै दरवारमार्ग पुगेर सकिनेछ ।
केटीएम रनका रेस डिरेक्टर शुशील नरसिंह राणाले १० किलोमिटर दौडको आयोजनाबाट खेलाडीलाई अधिकतम भन्दा अधिकतम फाइदा पुग्ने बताउनुभयो ।

‘खेलाडीले म्याराथन वर्षमा तीन पटक भन्दा धेरै दौडन सक्दैन । तर, १० किलोमिटरको दौड ६ पटक भन्दा बढी दौडन सक्छ । यसले खेलाडीलाई एक्सपोजर पनि मिल्छ साथै म्याराथनका लागि खेलाडी तयार पनि हुन्छ,’ राणाले भन्नुभयो ।