खेलकुद |

करातेमा आयुश र रोजनलाई स्वर्ण

काठमाडौँ, पुस २६ गते । आनन्तनगर डोजोका आयुश राई र शंखडोल एकेडेमीका रोजन तामाङले उमा खुला राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । नेपाल गोजु काई कराते डो संघको आयोजनामा सोमबारदेखि काठमाडौँको चावहिलमा सुरु भएको प्रतियोगितामा पुरुष ३० केजीमुनि तौलसमूहको फाइनलमा आयुशले मित्रपार्क डोजाका सोनाम तामाङलाई हराउनुभयो । ४० केजी मूनि रोजनले मित्रपार्ककै अन्मेष थेवेलाई स्तब्ध बनाउनुभयो ।

यसैगरी ३५ केजीमुनि ठैब डोजाका अनायन मानन्धरले स्वर्ण जित्नुभयो । उहाँले नागार्जुन डोजाका अविजित पहारीलाई हराउनुभयो । ४५ केजीमा जोरपाटी डोजाका विकेश मोक्तानले स्वर्ण जित्नुभयो । फाइनलमा उहाँले (साउथ भ्याली स्कुल सुनील ठगुन्नालाई हराउनुभयो ।

यसैगरी ५० केजीमा मानसिंह डोजाको विनोद श्रेष्ठले स्वर्ण जित्नुभयो । महिलातर्फ ३० केजीमा मानसिंहकै अनु मोक्तान, ३५ केजीमा आनन्दनगर डोजाकी अस्मिता मोक्तानले स्वर्ण जित्नुभयो । दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ पाँच र महिलातर्फ दुई स्वर्णको छिनोफानो भएको प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २० जिल्ला तथा विभिन्न डोजोकागरी २०९ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।