खेलकुद |

जोरपाटी डोजो टिम च्याम्पियन

काठमाडौँ, पुस २७ गते ।  नेपाल गोजु काई कराते संले आयोजना गरेको उमा खुला कराते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले पाँच स्वर्ण, एक रजत र तीन कांस्य जितेर च्याम्पियन बनेको हो । चार स्वर्ण, तीन रजत र पाँच कांस्य जितेर मानसिंह डोजो दोस्रो भएको छ । तीन स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जित्नुभयो । प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । दुवैले गोजु काई कराँते संघका उपाध्यक्ष नार्दन उप्रेतीबाट जनही आठ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

दुई दिने प्रतियोगिताका विजेतालाई नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, आयोजक संघका अध्यक्ष अशुराज श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । काठमाडौँ महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोबाट दुई सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।