भारोत्तोलनमा गणेशको राष्ट्रिय कीर्तिमान
काठमाडौँ, पुस २७ गते । नेपाल प्रहरीका गणेश रानाभाटले २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल हुनुभएको छ । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गर्नुभएको हो । उहाँले सेनाका तुलाराम महतोले मंगलबारनै कायम गरेको १०० केजीको कीर्तिमानलाई भंग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाउनुभएको हो ।
महतोले ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । तर लगत्यै महातोको कीर्तिमानलाई रानाभाटले १०१ केजीसहित तोड्नुभयो । ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने रानाभाट तेस्रो स्थानमा रहनुभयो । सेनाका तुलाारामनै पहिलो हुनुभयो । उहाँले स्न्याचमा ८३ केजी, क्लिनमा १०० केजीगरी समग्रमा १८३ केजी भार बहन गर्नुभएको थियो ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोही उमेर समूहको युथतर्फ पर्साका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्वर्ण जित्नुभयो । जुनियरतर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जित्नुभयो ।
यसैगरी महिला युथ ४५ केजीतर्फ बर्दियाकी अरुणिमा थारु, ४९ केजी युथमा सप्तरीकी अञ्जली यादव, जुनियर ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डल, ४९ केजी महिलामा बर्दियाकी पवित्रा थापामगर, महिला ४५ केजी सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाट, महिला ४९ केजीतर्फ प्रहरीकी संगिता राईले स्वर्ण पदक जित्नुभयो ।
कार्यक्रममा १०औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता कमलबहादुर अधिकारी र १३औँ सागमा स्वर्ण पदक विजेता बिकास थापा र सञ्जु चौधरीलाई जनही १० हजार रुपियाँसहित सम्मान गरिएको थियो । खेलाडीलाई संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायतले सम्मान गर्नुभयो ।